ग्यास अभावको अवस्था देखापरेसँगै विभागद्वारा अनुगमन सुरु

काठमाडौं– बजारमा खानेतेल र खाना पकाउने ग्यासजस्ता अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न क्षेत्रमा बजार अनुगमन र निरीक्षणलाई कडा बनाएको छ।

विभागका अनुसार उपभोक्ताको दैनिक आवश्यकतासँग सम्बन्धित वस्तु उत्पादन, बिक्री, आयात, भण्डारण तथा सेवा प्रदान गर्ने फर्म र प्रतिष्ठानमा अन्य सम्बन्धित निकायसँग सहकार्य गर्दै संयुक्त रूपमा नियमित बजार अनुगमन भइरहेको छ।

उपभोक्तालाई सहज रूपमा आवश्यक सामग्री उपलब्ध गराउने र अभाव सिर्जना गरी उपभोक्तालाई मारमा पार्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उद्देश्यले विभागले प्रभावकारी अनुगमन गरिरहेको जनाएको छ।

हाल विशेषगरी खाना पकाउने ग्यासको अभाव देखाउँदै उपभोक्तालाई हैरानी दिने गतिविधि बढेको भन्दै विभागले यस्ता गैरकानुनी कार्यमा संलग्नलाई कारबाही गरिएको जानकारी दिएको छ।

विभागले प्रचलित कानुनविपरीत कुनै पनि गतिविधि पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सामान्य रहेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ्दै गएपछि विभागले आवश्यक कदम चालेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार