कठमाडौँ – एप्सटिन प्रकरणसँग जोडिएका कागजातहरू सार्वजनिक भएपछि विश्वभरका शक्तिशाली व्यक्तिहरूमाथि कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको छ। कुख्यात यौन अपराधी जेफ्री एप्सटिनसँग सम्बन्धित लाखौँ दस्तावेज बाहिर आएसँगै राजनीतिज्ञ, उद्योगपति, राजपरिवारका सदस्य र बौद्धिक व्यक्तित्वहरूको नाम जोडिएको छ।
सार्वजनिक फाइलहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्बपति इलोन मस्क, बिल गेट्स, रिचर्ड ब्रानसन, सेर्गेई ब्रिनलगायत चर्चित व्यक्तिहरूको नाम उल्लेख गरिएको छ। यसैगरी बेलायतका पूर्वराजकुमार एन्ड्र्यु, उनकी पूर्वपत्नी सारा फर्गुसन, लर्ड म्यान्डेलसन, ट्रम्पका सल्लाहकार स्टिभ ब्यानन तथा तिब्बती धर्मगुरु दलाई लामाको नाम पनि फाइलमा देखिन्छ।
त्यससँगै पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, इजरायलका पूर्वप्रधानमन्त्री एहुद बाराक, अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकलगायतको नाम पनि जोडिएको छ। स्वर्गीय वैज्ञानिक स्टिफन हकिङ र भाषाविद् नोम चोम्स्कीसमेत यस प्रकरणमा उल्लेख भएका छन्।
अमेरिकी उपमहान्यायाधिवक्ता टोड ब्लान्चले करिब ३५ लाख दस्तावेज सार्वजनिक गरेका हुन्, जसमा हजारौँ भिडियो र लाखौँ तस्बिर समावेश छन्। यी सामग्रीले शक्तिशाली व्यक्तिहरूको नैतिक पक्षमाथि गम्भीर प्रश्न उठाएको छ।
यस प्रकरणपछि केही व्यक्तिहरूले पद गुमाएका छन्। बेलायती राजकुमार एन्ड्र्युले शाही जिम्मेवारी त्याग्नुपरेको छ भने लर्ड म्यान्डेलसनले सांसद पदबाट राजीनामा दिएका छन्। अन्य देशका कूटनीतिज्ञ तथा उच्च पदस्थ अधिकारीहरूले पनि पद त्याग वा सार्वजनिक माफी मागेका उदाहरण छन्।
तर, फाइलमा नाम उल्लेख हुँदैमा कानुनी दोष प्रमाणित नहुने विज्ञहरूको भनाइ छ। अमेरिकी पूर्वसंघीय अभियोजक नेयामा रहमानीका अनुसार कुनै कागजातमा नाम देखिनु मात्र अभियोजनका लागि पर्याप्त हुँदैन, प्रत्यक्ष प्रमाण र पीडितको बयान अनिवार्य हुन्छ।
अमेरिकी न्याय मन्त्रालयले पनि हाल एप्सटिन प्रकरणमा थप कानुनी कारबाहीको सम्भावना नरहेको स्पष्ट पारेको छ। सीएनएनसँगको अन्तर्वार्तामा उपमहान्यायाधिवक्ता ब्लान्चले फाइलमा आपत्तिजनक सामग्री भए पनि अभियोजन गर्न मिल्ने ठोस आधार नरहेको बताएका छन्।
उता, फाइलमा नाम आएका धेरै व्यक्तिहरूले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। इलोन मस्कले आफ्नो नाम बदनाम गरिएको आरोप लगाएका छन् भने बिल गेट्स, डोनाल्ड ट्रम्प, रिचर्ड ब्रानसनलगायतले पनि कुनै गैरकानुनी गतिविधिमा संलग्न नभएको स्पष्ट पारेका छन्। दलाई लामाले त एप्सटिनसँग भेट नै नभएको दाबी गरेका छन्।
एफबीआई र अमेरिकी न्याय मन्त्रालयका अध्ययनअनुसार एप्सटिन स्वयं यौन अपराधमा संलग्न भए पनि उनले अन्य शक्तिशाली व्यक्तिका लागि बाल तस्करी गरेको ठोस प्रमाण फेला नपरेको बताइएको छ। त्यसैले हालका दस्तावेजका आधारमा मात्र कानुनी कारबाही अघि बढ्ने सम्भावना न्यून देखिएको छ।