चितवन । अण्डाको बजार मूल्यमा एकाएक ठूलो गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ घटाइएको मूल्य सार्वजनिक गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभित्र अण्डाको उत्पादन बढ्नु र यही समयमा भारतबाट ठूलो परिमाणमा अण्डा आयात हुनु मूल्य घट्नुको मुख्य कारण हो। बजारमा आपूर्ति बढी हुँदा स्वदेशी अण्डाले उचित मूल्य पाउन नसकेको उनले बताए ।
नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा (३० वटा) प्रति क्रेट ३७५ रुपैयाँ र मिडियम अण्डा ३३५ रुपैयाँ तोकिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ र मिडियम ४०५ रुपैयाँमा कारोबार हुँदै आएको थियो। अझ त्यसअघिको माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम ४७५ रुपैयाँसम्म पुगेको थियो।
गत मङ्सिर महिनामा भने अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यतिबेला फार्मस्तरमै ठूलो अण्डा प्रति क्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।
हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने र यसअनुसार प्रति क्रेट लागत करिब ५७४ रुपैयाँ ६ पैसा पुग्ने सङ्घले जनाएको छ। लागत मूल्यभन्दा निकै तल मूल्य झरेपछि किसानहरू थप निराश बनेका छन्।
सङ्घले देशभरका कुखुरा फार्मबाट मूल्य सङ्कलन गरी चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य सार्वजनिक गर्ने अभ्यास गर्दै आएको छ।