खोटाङमा नयाँ अनुहारहरूको भिडन्त, कसको पलडा भारी पर्ला ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । उम्मेदवारहरू मतदातासम्म प्रत्यक्ष पुग्ने अभियानमा सक्रिय देखिएका छन् ।

खेतबारीमा काम गरिरहेका किसानदेखि बाटोमा हिँडिरहेका सर्वसाधारण, घरमै बसिरहेका ज्येष्ठ नागरिकसम्म भेट्दै उनीहरू समर्थन जुटाउने प्रयासमा जुटेका छन् । घरदैलो कार्यक्रम, व्यक्तिगत भेटघाट र भावनात्मक संवादमार्फत मत आफ्नो पक्षमा पार्ने रणनीतिमा उम्मेदवारहरू लागिरहेका छन् ।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत दलको समर्थन पाएका तत्कालीन माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी भएका थिए । उनले ३१ हजार ३५१ मत प्राप्त गर्दा नेकपा (एमाले) का विशाल भट्टराईले २८ हजार ६८२ मत ल्याएका थिए ।

यसपटक भने दलहरूबीच कुनै चुनावी तालमेल छैन । सबै पार्टीहरू आ–आफ्नै शक्तिमा चुनावी मैदानमा उत्रिएका छन् ।

तत्कालीन नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रसहित २० घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले संविधानसभा सदस्यसमेत रहिसकेका हरि रोकालाई उम्मेदवार बनाएको छ ।

खोटाङमा यसपटक मुख्य दलहरूले नयाँ अनुहारहरूलाई अघि सारेका छन् । एमालेबाट देवविक्रम राई, कांग्रेसबाट वीरकाजी राई उम्मेदवार बनेका छन् ।

अन्य दलका उम्मेदवारहरू यसप्रकार छन् :

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक तामाङ, जसपा नेपालबाट सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट प्रयाग राई, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, श्रम संस्कृति पार्टीबाट आरेन राई, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ र नेकपा (माओवादी) बाट चन्द्रबहादुर बुढाथोकी उम्मेदवार बनेका छन् ।

जनता समाजवादी पार्टी (एकल चुनाव चिह्न) बाट राकेश राई चुनावी मैदानमा छन् भने स्वतन्त्रतर्फ तिलकचन्द्र राई र राजकुमार राई उम्मेदवार बनेका छन् ।

२०४८ सालदेखि हालसम्मको चुनावी इतिहास हेर्दा खोटाङमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र—तीनै ठूला दलले मिश्रित नतिजा हासिल गर्दै आएका छन् । यसपटकको निर्वाचनमा नयाँ अनुहारबीचको प्रतिस्पर्धाले मत परिणामलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार