विश्व बैंकद्वारा एसएमईका लागि ९ करोड ५० लाख डलरको परियोजना स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) को वित्तीय पहुँच विस्तार गर्दै रोजगारीमुखी आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यसहित ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ।

वासिङटन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनामार्फत जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई प्राथमिकता दिइने जनाइएको छ।

यसअन्तर्गत निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई थप सशक्त बनाइनेछ, जसले उत्पादनमूलक व्यवसाय सुरु गर्न तथा विस्तार गर्न उद्यमीलाई सहज कर्जा पहुँच सुनिश्चित गर्नेछ।

माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले परियोजनाले वित्तीय पहुँच सहज बनाउँदै कारोबारी अवरोध घटाउने र वित्तीय समावेशिता विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनका अनुसार यसले एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा जोड्न सहयोग गर्नुका साथै निजी क्षेत्रको नेतृत्वमा रोजगारी सिर्जनामा टेवा पुर्‍याउनेछ।

‘दिगो तथा समावेशी वित्त परियोजना’ ९एसआईएफ० सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि विश्व बैंकको वित्तसम्बन्धी विकास नीतिगत कर्जा ९डिपिसी० शृङ्खलाअन्तर्गत गरिएका सुधारको निरन्तरता हो।

प्रतिक्रिया
सम्बन्धित समाचार