काठमाडाैँ । हरेक महिना, करोडौं प्रयोगकर्ताहरू नयाँ फेसन र शैलीहरू खोज्न ‘पिन्ट्रेस्ट’ मा आउँछन्। त्यहाँ ‘सबैभन्दा हास्यास्पद चीजहरू’ शीर्षकको एउटा पेज छ, जहाँ सिर्जनशील मानिसहरूलाई प्रेरित गर्ने अनौठा विचारहरू राखिएका छन्। जस्तै– गमला बनाइएका क्रक्स जुत्ता, चिज बर्गर आकारको आईस्याडो वा तरकारीले बनाइएको जिन्जरब्रेड घर। तर यहाँ आउने धेरैलाई थाहा नहुन सक्छ कि यसको पछाडि प्रयोग भइरहेको प्रविधि अमेरिकी नै हो भन्ने छैन। पिन्ट्रेस्टले आफ्नो ‘रेकमेन्डेसन इन्जिन’ (सुझाव दिने प्रणाली) लाई तिखार्न चिनियाँ एआई मोडलहरूको प्रयोग गरिरहेको छ।
कम्पनीका प्रमुख बिल रेडीले मलाई भने, ‘हामीले पिन्ट्रेस्टलाई एआई-सञ्चालित सपिङ असिस्टेन्ट (किनमेल सहयोगी) बनाएका छौँ।’ पक्का पनि, सान फ्रान्सिस्कोमा रहेको यो कम्पनीले पर्दा पछाडि काम गर्नका लागि कुनै पनि अमेरिकी एआई ल्याबको प्रयोग गर्न सक्थ्यो। तर सन् २०२५ को जनवरीमा चीनको ‘डिपसिक आर(१’ मोडल सार्वजनिक भएपछि, चिनियाँ एआई प्रविधि पिन्ट्रेस्टको अभिन्न अङ्ग बन्दै गएको छ। रेडी यसलाई ‘डिपसिक मोमेन्ट’ वा एउटा ठुलो फड्को मान्छन्। उनी भन्छन्, ‘उनीहरूले यसलाई ‘ओपन सोर्स’ ९सबैका लागि खुला० बनाए, जसले ओपन सोर्स मोडलहरूको लहर नै ल्यायो।’
चिनियाँ प्रतिस्पर्धीहरूमा अलिबाबाको ‘क्वेन’ (QWEN) र मुनशटको ‘किमी’ (KIMI) छन् भने टिकटकको मालिक बाइटडान्सले पनि यस्तै प्रविधिमा काम गरिरहेको छ। पिन्ट्रेस्टका चिफ टेक्नोलोजी अफिसर म्याट म्याड्रिगलका अनुसार यी मोडलहरूको सबैभन्दा बलियो पक्ष भनेको यिनलाई निस्शुल्क डाउनलोड गर्न सकिन्छ र कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार परिवर्तन (कस्टमाइज) गर्न सक्छन्। यो सुविधा च्याटजीपीटी बनाउने ओपनएआई जस्ता अमेरिकी कम्पनीहरूका धेरैजसो मोडलमा पाइँदैन। म्याड्रिगलले भने, ‘हामीले आफ्नै इन(हाउस मोडलहरूलाई तालिम दिन प्रयोग गर्ने ओपन सोर्स प्रविधिहरू बजारमा पाइने अन्य महँगा मोडलभन्दा ३० प्रतिशत बढी सटीक छन्।’ उनका अनुसार, यसबाट प्राप्त हुने सुझावहरू धेरै सस्तो मूल्यमा आउँछन्। कहिलेकाहीँ त अमेरिकी एआई डेभलपरहरूले प्रयोग गर्ने ’प्रोपाइटरी मोडल’ (स्वामित्व भएका मोडल) को तुलनामा यसको खर्च ९० प्रतिशतसम्म कम हुन्छ।
छिटो र सस्तो
पिन्ट्रेस्ट मात्र होइन, अन्य अमेरिकी कम्पनीहरू पनि चिनियाँ एआई प्रविधिमा भर पर्न थालेका छन्। फर्च्युन ५०० कम्पनीहरूमा यी मोडलहरूको प्रयोग बढ्दो छ। गत अक्टोबरमा ‘एयरबीएनबी’ का प्रमुख ब्रायन चेस्कीले ब्लुमबर्गलाई बताए अनुसार उनको कम्पनीले एआई ग्राहक सेवाका लागि अलिबाबाको ‘क्वेन’ मा धेरै भर परेको छ। उनले यसका तीन सरल कारण दिए– यो ‘धेरै राम्रो’, ‘छिटो’ र ‘सस्तो’ छ।
यसको थप प्रमाण ‘हगिङ फेस’ मा पनि भेटिन्छ, जहाँ मानिसहरू रेडिमेड एआई मोडलहरू डाउनलोड गर्न जान्छन्। त्यहाँ मेटा र अलिबाबा जस्ता ठूला डेभलपरका मोडलहरू पाइन्छन्। हगिङ फेसमा उत्पादन निर्माण गर्ने जेफ बुडियरका अनुसार साना स्टार्टअपहरू अमेरिकी भन्दा चिनियाँ मोडलहरूप्रति आकर्षित हुनुको मुख्य कारण लागत (पैसा) हो।
उनले मलाई भने, ‘यदि तपाईंले हगिङ फेसमा धेरै खोजिएका मोडलहरू हेर्नुभयो भने– जुन समुदायले सबैभन्दा बढी डाउनलोड र मन पराएका छन्– त्यहाँको शीर्ष १० को सूचीमा प्रायः चिनियाँ ल्याबका मोडलहरू नै हुन्छन्।’ ‘कुनै हप्ता त हगिङ फेसका शीर्ष ५ ट्रेनिङ मोडलमध्ये ४ वटा चिनियाँ ल्याबका हुन्छन्।’ गत सेप्टेम्बरमा, ‘क्वेन’ ले मेटाको ‘लामा’ (Lama) लाई पछि पार्दै हगिङ फेस प्लेटफर्ममा सबैभन्दा बढी डाउनलोड हुने ‘लार्ज ल्याङ्ग्वेज मोडल’ (एलएलएम) को परिवार बन्यो।
मेटाले २०२३ मा आफ्नो ओपन-सोर्स लामा एआई मोडल सार्वजनिक गरेको थियो। डिपसिक र अलिबाबाका मोडलहरू नआउँदासम्म, डेभलपरहरूका लागि यो नै पहिलो रोजाइ थियो। तर गत वर्ष आएको ‘लामा-४’ ले डेभलपरहरूलाई खासै उत्साहित बनाउन सकेन। रिपोर्टहरूका अनुसार मेटाले अहिले अलिबाबा, गुगल र ओपनएआईका ओपन(सोर्स मोडलहरू प्रयोग गरेर नयाँ मोडल सेट तयार गरिरहेको छ, जुन यस वर्षको वसन्त ऋतुमा सार्वजनिक हुनेछ।
एयरबीएनबीले पनि अमेरिकीसहित अन्य धेरै मोडलहरू प्रयोग गर्छ र तिनलाई आफ्नै पूर्वाधारमा सुरक्षित राख्छ। कम्पनीका अनुसार प्रयोगकर्ताको डाटा कहिल्यै पनि उनीहरूले प्रयोग गर्ने एआई मोडलका डेभलपरहरूलाई दिइँदैन।
चिनियाँ सफलता
सन् २०२५ को सुरुवातसँगै धेरैको बुझाइ थियो, अमेरिकी टेक कम्पनीहरूले अर्बौँ डलर खर्च गरे पनि चिनियाँ कम्पनीहरू अगाडि बढ्ने खतरा छ। बुडियर भन्छन्, ‘अब त्यो कथा रहेन। अहिले सबैभन्दा राम्रो मोडल नै ओपन(सोर्स मोडल हो।’ गत महिना स्ट्यानफोर्ड युनिभर्सिटीले प्रकाशित गरेको रिपोर्ट अनुसार चिनियाँ एआई मोडलहरू क्षमता र प्रयोगकर्ताको सङ्ख्या दुवै हिसाबले विश्वका अन्य मोडलहरूसँग बराबरी वा अझ अगाडि पुगेको देखिएको छ।
बीबीसीसँगको हालैको अन्तर्वार्तामा बेलायतका पूर्व उपप्रधानमन्त्री सर निक क्लेगले अमेरिकी कम्पनीहरू मानव बुद्धिमत्तालाई जित्ने एआईको पछि मात्र लागेको जस्तो देखिएको बताए। गत वर्ष सर निक क्लेगले मेटाको ग्लोबल अफेयर्स प्रमुखको पद छोडेका थिए। मेटाका प्रमुख मार्क जुकरबर्गले ‘सुपरइन्टेलिजेन्स’ प्राप्त गर्न अर्बौँ डलर खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।
केही विज्ञहरूले यी महत्त्वाकांक्षाहरूलाई अस्पष्ट भनेका छन्– जसले चीनलाई ओपन(सोर्स एआई क्षेत्रमा प्रभुत्व जमाउने मौका दिएको छ। क्लेगले भने, ‘यहाँ विडम्बना हेर्नुहोस्। विश्वको ठुलो एकतन्त्रीय शासन (चीन) र विश्वको सबैभन्दा ठुलो लोकतन्त्र ९अमेरिका० बिचको लडाइँमा, चीनले प्रविधिको लोकतान्त्रिकरण (सबैको पहुँचमा पुर्याउने काम) गरिरहेको छ।’
स्ट्यानफोर्डको रिपोर्टले ओपन(सोर्स मोडलहरूको विकासमा चीनको सफलता पछाडि सरकारी सहयोगको पनि हात रहेको देखाएको छ। यता विश्वको अर्को कुनामा, ओपनएआई जस्ता अमेरिकी कम्पनीहरूमा नाफा कमाउने र आम्दानी बढाउने ठुलो दबाब छ– र उनीहरू अब विज्ञापनतर्फ लाग्दैछन्।
कम्पनीले गत गर्मीमा दुईवटा ओपन-सोर्स मोडलहरू सार्वजनिक गरेको थियो– जुन वर्षौँपछि पहिलो पटक थियो। तर उसले पैसा कमाउनका लागि आफ्ना अधिकांश स्रोतहरू ‘प्रोपाइटरी मोडल’ मा खन्याएको छ।
ओपनएआईका प्रमुख स्याम अल्टम्यानले अक्टोबरमा मलाई भनेका थिए, उनीहरूले कम्प्युटिङ पावर र पूर्वाधार सम्झौताहरू सुरक्षित गर्न आक्रामक रूपमा लगानी गरेका छन्। उनले भने, ‘आम्दानी त धेरै छिटो बढ्नेछ, तर तपाईंले यो अपेक्षा गर्नुपर्छ कि हामी अर्को र त्यसपछिको मोडलको तालिममा ठुलो लगानी गरिरहनेछौँ।’ -लिली जमाली/बीबीसी pics: AI