काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रिक्त रहेका विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीको पदपूर्ति समितिले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु गरेको हो ।
टेलिकमले तह ३ देखि तह ९ सम्मका विभिन्न रिक्त पदहरूको लागि आवेदन मागेको छ। विज्ञापन गरिएका पदहरूमा उप-प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक र टेक्निसियनलगायत रहेका छन्।
अनलाइनमार्फत आवेदन दिन सकिने योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा रहेको अनलाइन पोर्टल प्रयोग गरी आवेदन फारम भर्न सक्नेछन्। सूचनाअनुसार प्रकाशित मितिले २१ दिनभित्र नियमित दस्तुरमा र त्यसपछिको थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको छ।
