काठमाडौं । अमेरिकाका न्युयोर्क, न्यु जर्सी र आसपासका क्षेत्रमा आइतबारदेखि सोमबारसम्म भारी हिमपातको सम्भावना छ । भीषण शीतकालीन आँधीको पनि पूर्वानुमान गरिएको छ ।
यो स्थितिलाई मध्यनजर गर्दै भारतको एयर इन्डियाले जनवरी २५ र २६ मा न्युयोर्क र नेवार्कबाट हुने आफ्ना सबै उडान रद्द गरेको छ ।
अमेरिकी मौसम विभागले न्यु मेक्सिकोदेखि न्यु इंग्ल्यान्डसम्मका करिब १४ करोड मानिसका निम्ति चेतावनी जारी गरेको छ । धेरै राज्यमा संकटकाल घोषणा गरिएको छ ।
यो आँधीका कारण हालसम्म आठ हजारभन्दा बढी उडान रद्द गरिएको छ । भीषण शीतकालीन आँधीको जोखिमका कारण सप्ताहान्तका आठ हजारभन्दा बढी उडान रद्द गरिएको हो ।
प्रतिकूल मौसमले धेरै क्षेत्रमा क्षति पुर्याउन सक्ने, लामो समयसम्म बिजुली आपूर्ति अवरुद्ध र जनजीवन प्रभावित हुने चेतावनी दिइएको छ ।
प्रमुख सडकमा यातायात आवागमन पनि नराम्ररी प्रभावित हुने सम्भावना रहेको जनाइएको छ ।
राष्ट्रिय मौसम सेवाका अनुसार, भारी हिमपातसँगै पूर्वी टेक्सासदेखि नर्थ क्यारोलिनासम्म ‘खतरनाक’ रूपमा बरफ जम्ने स्थिति बन्न सक्छ । मौसमविद्का अनुसार, बरफ जम्ने कारणले हुने क्षति कुनै ठूलो चक्रवात वा आँधीले पुर्याउनेजस्तै हुनसक्छ ।
एक दर्जनभन्दा बढी राज्यका गभर्नरले प्रतिकूल मौसमबारे चेतावनी जारी गरेका छन् । धेरै ठाउँमा संकटकाल घोषणा गर्दै मानिसलाई घरभित्रै रहन भनिएको छ ।
टेक्सासका गभर्नर ग्रेग एबटले सम्भव भएसम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन् । एपीबाट ।