काठमाडौँ – चालु आर्थिक वर्षको अवधिसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका १० स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन् ।
कार्यालयका अधिकृत उदय पराजुलीका अनुसार शुक्लागण्डकी नगरपालिकाविरुद्ध १६, व्यास नगरपालिकाविरुद्ध १४, भानु नगरपालिकाविरुद्ध १२, देवघाट गाउँपालिकाविरुद्ध ११, आँबुखैरेनी गाउँपालिकाविरुद्ध ७, बन्दीपुर गाउँपालिकाविरुद्ध ७, म्याग्दे गाउँपालिकाविरुद्ध ४ भिमाद नगरपालिकाविरुद्ध १ र घिरिङ गाउँपालिकाविरुद्ध १ उजुरी परेको छ । ऋषिङ गाउँपालिकाविरुद्ध भने उजुरी नपरेको पराजुलीले जानकारी दिए ।
यस्तै जिल्लामा गत आवको जिम्मेवारी सरी आएका २७ वटा मुद्दा रहेको छ । गत आव र चालु आवको गरी १०० उजुरी रहेकामा ३८ उजुरी फछ्र्योट भएको पराजुलीले बताए ।
पराजुलीले देवघाट गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा बिहीबार देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा भ्रष्टाचार र अनियमितताविरुद्ध उजुरी कसरी गर्ने, भ्रष्टाचारको रुप, भ्रष्टाचार कसुर र सजाय ९भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ (२३) का बारेमा जानकारी गराएका थिए ।
कार्यालयका प्रमुख नारायणप्रसाद रेग्मीले आयोगमा उजुरी पर्दैमा डराउनु नपर्ने र उजुरी परेपछि त्यससम्बन्धी निष्पक्ष छानबिन हुने र निर्दोषलाई सफाइ र दोषीलाई कानुनअनुसार कारबाही हुने बताए । देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहले कुनै पनि काम गर्न लाग्दा अख्तियारमा उजुरी हालेर दुःख दिने गरेकोमा चित्ता व्यक्त गरे ।