काठमाडौं । दुई महिनादेखि अमेरिकी सेनाले क्यारेबियन सागरमा युद्धपोत, लडाकु जेट, बम्बर, मरिन, ड्रोन र जासुसी विमानको ठूलो शक्ति तैनाथ गरिरहेको छ । यो दशकौँमा त्यहाँ गरिएको सबैभन्दा ठूलो तैनाथी हो ।
लामो दूरीका बम्बर विमान बी–५२ हरूले भेनेजुएलाको तटबाट टाढा आक्रमण प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सीआईएको तैनाथ र गोप्य कार्य सञ्चालन गर्ने अधिकार दिएका जनाइएको छ । र, विश्वको सबैभन्दा ठूलो विमानवाहक पानीजहाज यो क्षेत्रमा पठाइँदै छ ।
अमेरिकाले भेनेजुएलाबाट आएका साना जहाजमा हमला गरेर दर्जनौँ मानिस मारिएको दाबी गरेको छ । त्यसमा उसले कुनै ठोस प्रमाण वा सवारको विवरण नदिई उनीहरूलाई लागूपदार्थ र ‘लागुपदार्थ–आतंकवादी’ भएको आरोप लगाएको छ ।
यी हमलाहरूले यस क्षेत्रमा निन्दा निम्त्याएका छन् र विज्ञहरूले तिनीहरूको वैधतामाथि प्रश्न उठाएका छन् । अमेरिकाले यी घटनाहरूलाई लागुपदार्थ तस्करीविरुद्धको युद्धको रूपमा प्रस्तुत गरिरहेको छ, तर धेरै संकेतहरूले देखाउँछन् कि यो वास्तवमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउन खोज्ने दबाब अभियान हुनसक्छ ।
“यो शासन परिवर्तनको बारेमा हो । उनीहरूले सायद आक्रमण गर्ने छैनन् — आशा यो हो कि यो एक संकेत हो,” च्याथम हाउस थिंक ट्यांकका ल्याटिन अमेरिकाका वरिष्ठ फेलो डा. क्रिस्टोफर साबातनी भन्छन् ।
उनको यो सैन्य उपस्थिति भेनेजुएलाको सेनामा र मादुरोको भित्री घेरामा डर उत्पन्न गर्ने उद्देश्यले गरिएको शक्तिको प्रदर्शन हो भन्ने तर्क छ, ताकि उनीहरू मादुरोविरुद्ध कदम चाल्न प्रेरित हुन् ।
बीबीसी भेरिफाइले यो क्षेत्रमा अमेरिकी जहाज र विमानहरूको सार्वजनिक रूपमा उपलब्ध ट्रयाकिङ जानकारी साथै उपग्रह (स्याटेलाइट) इमेजरी र सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरहरू निगरानी गरी ट्रम्पका सैनिकहरू कहाँ अवस्थित छन् भन्ने चित्र बनाउन प्रयास गरिरहेको छ ।
५० मिलियन डलरको इनाम : भित्री घेराको वफादारी परीक्षण
अमेरिकी प्रशासन – विशेष गरी सिनेटर मार्को रुबियो मादुरोलाई हटाइएको देख्न चाहन्छन् । यो वर्षको सुरुमा फक्स न्युजसँग मादुरोलाई हटाउन के गर्ने भन्ने प्रश्नमा उनले भनेका थिए, “हामी त्यस नीतिमा काम गर्नेछौँ ।” उनले मादुरो भयानक तानाशाह भएको बताएका थिए ।
तर, रुबियोजस्ता मादुरोका स्पष्ट आलोचकहरूका लागि पनि सैन्य–समर्थित शासन परिवर्तनको खुला आह्वान गर्न गाह्रो छ, जुन भेनेजुएलाको विपक्षी दलका सदस्यहरूले लामो समयदेखि माग गर्दै आएका छन् ।
ट्रम्पले सन् २०१६ मा शासन परिवर्तनविरुद्ध प्रचार गरेका थिए, ‘विदेशी शासकहरूलाई हटाउन बन्द गर्ने’ प्रतिबद्धता जनाउँदै र हालै सधैँको युद्धमा संलग्नताका विरुद्ध निन्दा पनि गरेका छन् ।
अमेरिकाले मादुरोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको रूपमा मान्दैन, किनभने सन् २०२४ को पछिल्लो चुनावलाई अन्तर्राष्ट्रिय रूपमा र भेनेजुएलाको विपक्षी दलद्वारा स्वतन्त्र तथा निष्पक्ष मानिएको थिएन । ट्रम्पको पहिलो राष्ट्रपतिकालमा सन् २०१९ मा काराकसमा रहेको अमेरिकी दूतावास बन्द गरिएको थियो ।
अमेरिकाले मादुरोको गिरफ्तारीसम्बन्धी जानकारीका लागि आफ्नो पुरस्कार बढाएर ५० मिलियन डलर पुर्याएको छ, जुन उनको नजिकका वफादार र भित्री घेराका मानिसहरूलाई उनलाई सुम्पिन प्रेरित गर्ने उद्देश्य हो । तर, यसको प्रभावले अहिलेसम्म ठूलो दलबदल सिर्जना गरिसकेको छैन ।
भेनेजुएलाका कानुनका प्रोफेसर र सीएसआईएसका वरिष्ठ एसोसिएट जोसे इग्नासियो हर्नान्डेज भन्छन्, भेनेजुएलाका अभिजात वर्गका लागि ५० मिलियन डलर थोरै कुरा होइन ।”
भेनेजुएलाजस्तो तेलले धनी राज्यमा भ्रष्टाचारबाट ठूलो धन आर्जन गर्न सकिन्छ । उदाहरणका लागि ट्रेजरीका पूर्वउपाध्यक्ष अलेजेन्ड्रो एन्ड्राडेले सजाय हुनुअघि एक अर्ब डलर घुस लिएको खुल्न आएको थियो ।
धेरै विश्लेषकले सहमति व्यक्त गर्दै शासन परिवर्तनका लागि भेनेजुएलाको सेना नै निर्णायक भए पनि उनीहरूले मादुरोविरुद्ध कदम चाल्न सम्भवतः अभियोजनबाट सुरक्षा वा प्रतिरक्षा (इम्प्युनिटी) पाउने आस र ग्यारेन्टी चाहनेछन् ।
हर्नान्डेज थप्छन्, “उनीहरूले सोच्नेछन्– कुनै न कुनै रूपमा म पनि आपराधिक गतिविधिमा संलग्न छु ।”
ल्याटिन अमेरिकामा व्यापक रूपमा प्रकाशन गर्ने शिकागो विश्वविद्यालयका राजनीति विज्ञानका प्रोफेसर माइकल अल्बर्टस ५०० मिलियन डलरको इनामले पनि मादुरोको भित्री घेरालाई उनलाई सुम्पिन सहमत गराउन सक्छ भन्नेमा विश्वस्त छैनन् ।
“अधिनायकवादी नेताहरू आफ्ना भित्री घेरामाथि पनि सधैँ शंका गर्छन् र त्यसैले तिनीहरूले निगरानी गर्न र वफादारी सुनिश्चित गर्न विभिन्न संयन्त्रहरू सिर्जना गर्छन्,” उनले भने ।
भेनेजुएलामाथि लगाइएका आर्थिक प्रतिबन्धले पहिले नै गम्भीर आर्थिक संकटलाई झन् गहिरो बनाएको छ । तर, यीले वरिष्ठ व्यक्तित्वहरूलाई स्पष्ट रूपमा राष्ट्रपतिको विरुद्ध जान प्रेरित गर्न सकेका छैन ।
यो केवल लागुपदार्थको सम्बन्धमा मात्र नहुन सक्छ
ट्रम्पले यसलाई लागुपदार्थ तस्करहरूविरुद्धको युद्ध भनेर घोषणा गरेका छन् र उनले अक्टोबर १६ मा अमेरिकाले हमला गरेको एउटा जहाज धेरैजसो फेन्टानिलले भरिएको भनेका थिए ।
तर, फेन्टानिल मुख्यतया मेक्सिकोमा उत्पादन हुन्छ र दक्षिण अमेरिकामा होइन र प्रायः दक्षिणी सीमाबाट अमेरिका भित्रन्छ ।
“अमेरिकाले भेनेजुएलामा चालेको कदम लागुपदार्थको बारेमा होइन,” डा. साबातनी भन्छन्, “तर, यो केवल एक तानाशाही मात्र नभएर एउटा आपराधिक शासन पनि हो भनेर उनले भेनेजुएलाविरोधी भाषालाई आत्मसात् गरेका छन् ।”
सन् २०२० देखि अमेरिकी न्याय विभागले मादुरोमाथि लागुपदार्थ तस्करी र लागुपदार्थ–आतंकवादी संगठनको नेतृत्व गरेको आरोप लगाउँदै आएको छ, जुन मादुरोले बारम्बार अस्वीकार गरेका छन् । ट्रम्पले भेनेजुएलाबाट लागुपदार्थ आइरहेको भन्ने कारणको आधारमा सीआईएलाई गोप्य कारबाहीहरू सञ्चालन गर्ने अधिकार दिइएको बताएका छन् ।
भेनेजुएलाले ठूलो मात्रामा कोकिन उत्पादन गर्दैन । त्यो मुख्यतया कोलम्बिया, पेरु र बोलिभियामा हुन्छ । भेनेजुएला हुँदै केही कोकिनको तस्करी हुन्छ, जसलाई आफ्नो सरकारले नियन्त्रणमा राखेको दाबी गर्छ ।
सन् २०२५ को अमेरिकी लागुऔषध प्रवर्तन प्रशासनको रिपोर्टले अमेरिकामा जफत गरिएको कोकिनको ८४ प्रतिशत कोलम्बियाबाट आएको देखाउँछ र यस रिपोर्टमा भेनेजुएलाको प्रसंग उल्लेख छैन ।
पहिला सात आक्रमणहरू क्यारेबियनमा गरिएका थिए, जुन प्रशान्त महासागरको तुलनामा लागुपदार्थ तस्करीका लागि प्रमुख समुद्री मार्ग होइन । तर, पछिल्ला हमलाहरू प्रशान्त क्षेत्रमा भएका थिए ।
अमेरिकाले मादुरोले लागुपदार्थ तस्करी संगठनको नेतृत्व गरेको विषयमा विस्तृत प्रमाण सार्वजनिक गरेको छैन । मादुरोले ती आरोपहरू बारम्बार अस्वीकार गरेका छन् र आफ्नो पक्षबाट अमेरिकालाई साम्राज्यवाद र प्रतिबन्धमार्फत देशलाई आर्थिक रूपमा धम्की दिने आरोप लगाउँछन् ।
उनका नजिकका व्यक्तिहरू दोषी ठहर भएका मामिला छन् । सन् २०१६ मा न्युयोर्कको एक संघीय अदालतले उनकी पत्नीका दुई भाइहरूलाई अमेरिकामा कोकिन आयात गर्ने षड्यन्त्रमा दोषी ठहर गरेको थियो ।
उक्त मुद्दामा उनीहरूले केही रकम उनकी पत्नीको राजनीतिक अभियानमा प्रयोग गर्ने योजना बनाएका बताएका थिए । ती व्यक्तिहरू पछि अमेरिकासँग भएको बन्दी विनिमय सम्झौतामा रिहा गरिएका थिए ।
अमेरिकी समुद्री र हवाई शक्तिलाई बनाइँदै सुदृढ
पेन्टागनले यो क्षेत्रमा एक क्यारियर स्ट्राइक समूह तैनाथ गर्न आदेश दिएको छ । यसमा विश्वको सबैभन्दा ठूलो विमानवाहक जहाज यूएसएस गेराल्ड आर. फोर्ड समावेश छ ।
अमेरिकी सैन्य आधार रहेको प्वोर्टो रिको वरपर हामी (बीबीसी)ले ट्रयाक गरेका अमेरिकी जहाजहरूका साथै उपग्रह इमेजरीले त्रिनिडाड र टोबागोको पूर्वमा करिब १२३ किमि टाढा दुई जहाज पनि देखाएका थिए । एउटा गाइडेड मिसाइल क्रुजर, यूएसएस लेक एरी, त्यसमध्ये एक थियो ।
अर्को एमभी ओशन ट्रेडरजस्तो देखिन्थ्यो, जो आरएन्डडी कर्पका वरिष्ठ नीति अनुसन्धानकर्ता र पूर्वअमेरिकी नौसेना कप्तान ब्राडली मार्टिनका अनुसार, एक रूपान्तरित कार्गो जहाज हो । यसलाई व्यावसायिक यातायातमा मिसाएर विशेष सेनाको मिसनहरूलाई समर्थन गर्न डिजाइन गरिएको छ । यसले ड्रोन, हेलिकोप्टर र साना डुंगाहरू राख्न सक्छ ।
यसले विभिन्न प्रकारका समर्थनमूलक मिसनहरू गर्न सक्छ, जसमा जासुसी र हमलाको तयारीसमेत समावेश हुन सक्छ । तर, मार्टिन यसको उपस्थिति अनिवार्य रूपमा त्यो प्रकारका गतिविधिहरू सञ्चालन भइरहेका छन् वा योजनाबद्ध छन् भन्ने संकेत होइन भन्नेमा जोड दिन्छन् ।
सैन्य विश्लेषकहरूले समुद्रमा लागुपदार्थ रोक्नका लागि वर्तमान अमेरिकी शक्तिजत्तिको ठूलो बल आवश्यक नपर्ने औँल्याएका छन् ।
म्याकेन्जी इन्टेलिजेन्स सर्भिसका वरिष्ठ विश्लेषक स्टु रे भन्छन्, “अक्टोबर १७ मा लिइएको उपग्रह तस्बिरमा टार्माकमा एफ–३५ लडाकु जेटहरू, सम्भवतः एफ–३५बीहरू देखिएका थिए ।”
यी अत्यधिक उन्नत स्टिल्थ जेटहरू हुन्, जसका छोटो टेक–अफ र ठाडो अवतरण क्षमताले उनीहरूलाई मूल्यवान् बनाउँछ ।
सामाजिक सञ्जालमा एक निजी जेट पाइलटले पोर्टो रिकोको राफेल हर्नान्डेज एयरपोर्टमा खिचिएको एमक्यू–९ रिपर ड्रोनको भिडियो पनि साझा गरेका थिए ।
यी ड्रोनहरूलाई अमेरिकाले अफगानिस्तान, सिरिया, लिबिया र मालीमा आक्रमण र निगरानीका लागि प्रयोग गरेको छ ।
अक्टोबरको सुरुमा बीबीसी भेरिफाइले तीन बी–५२ बम्बरहरूलाई ट्रयाक गरेको थियो, जुन क्यारिबियन पार गरेर भेनेजुएलाको तटनजिक उडेका थिए ।
अमेरिकी वायुसेनाले पछि ती विमानहरूले बम्बर आक्रमण प्रदर्शनमा भाग लिएका पुष्टि गरेको थियो ।
बी–१ बम्बर र पी–८ पोसाइडन जासुसी विमानहरूको उडानहरू पनि विमान ट्रयाकिङ प्लेटफर्महरूमा देखिएका थिए ।
सामाजिक सञ्जालका तस्बिरहरूले त्रिनिडाड र टोबागोको तटबाट टाढा सैन्य हेलिकोप्टरहरू सञ्चालन भइरहेको देखाएका थिए । यीमध्ये केही बोइङ एमएच–६एम लिटिल बड्र्स हुन्, जसलाई किलर एग्स उपनाम दिइएको छ र अमेरिकी विशेष सेनाले प्रयोग गर्छ ।
सीआईएले भित्र के गर्न सक्छ ?
सीआईएलाई मादुरोलाई हटाउने अधिकार दिइएको छ कि छैन भनेर सोध्दा ट्रम्पले प्रश्नलाई पन्छाए र जवाफ दिन हास्यास्पद हुने बताए ।
उनले अमेरिका अहिले जमिनमा हेरिरहेको भनेका छन् । अर्थात्, भेनेजुएलाको भूमिमा सम्भावित सैन्य कारबाहीहरूको सन्दर्भमा विचार गरिरहेको छ ।
ल्याटिन अमेरिकामा सीआईएप्रति धेरैले शंका गर्छन्, किनभने यो एजेन्सीले इतिहासमा गोप्य हस्तक्षेप, शासन परिवर्तनका प्रयास र दक्षिणपन्थी सैन्य तानाशाहीहरूको समर्थन गर्ने कामहरू गरेको छ । विशेष गरी चिली र ब्राजिलमा ।
नेड प्राइस – संयुक्त राष्ट्रका लागि अमेरिकी प्रतिनिधिको उपप्रमुख तथा पूर्वसीआईएका वरिष्ठ विश्लेषक र विदेश विभागका वरिष्ठ सल्लाहकारले सीआईएको गोप्यकारबाहीले धेरै रूपहरू लिन सक्ने बताएका छन् ।
“यो सूचना अपरेसन हुनसक्छ । यो तोडफोड अपरेसन हुनसक्छ । यो विपक्षी दलहरूलाई आर्थिक समर्थन हुनसक्छ । यो एक शासनको पतनसम्म पनि जान सक्छ । कम–अन्त विकल्पदेखि उच्च–अन्त विकल्पसम्म थुप्रै विकल्पहरू छन्,” उनले भने ।
यसमा भेनेजुएलाभित्रका तस्करीका संदिग्धहरूलाई लक्षित गर्न एजेन्टहरू प्रयोग हुनसक्छ । अमेरिकाको आफ्नै परिभाषाअनुसार यसमा मादुरो समेत पर्न सक्छन् ।
डा. साबातनी भन्छन्, “भेनेजुएलामा कोकिन वा फेन्टानिलका विशाल प्रयोगशाला नभएकाले प्रत्यक्ष ‘हटाउन’का लागि लक्ष्य कम छन्, तर त्यहाँका हवाईपट्टी र बन्दरगाहहरूलाई लक्षित गर्न सकिन्छ ।”
“यदि उनीहरू आक्रामक हुन चाहन्छन् भने उनीहरूले सैन्य ब्यारेकहरूलाई निसाना बनाउन सक्छन् । सेनाका केही क्षेत्रहरू तस्करीमा संलग्न रहेको राम्रो खुफिया संकेतहरू छन्,” उनले थपे ।
वा यो ‘स्म्याश एन्ड ग्रयाब’ हुन सक्छ, जहाँ उनीहरू मादुरो वा उनका केही सहयोगीहरूलाई पक्राउ गरेर अमेरिका ल्याउन सक्छन् ।
सबैभन्दा ठूलो प्रश्न, ट्रम्प क्यारेबियनमा यति धेरै अमेरिकी रिसोर्सहरू कति लामो समयसम्म राख्न इच्छुक छन् भन्ने रहेको उनी तर्क गर्छन् ।
यदि, यो सैन्य उपस्थितिको मुख्य उद्देश्य मादुरोलाई धम्की दिनु हो भने यसले दलबदललाई उक्साउन पर्याप्त छ भन्ने स्पष्ट छैन ।
प्रोफेसर अल्बर्टसको विचारमा यो बल प्रयोग गरेर मादुरो शासन हटाउने वास्तविक प्रयाससम्म पुग्छ कि पुग्दैन र त्यो थाहा पाउन गाह्रो छ । बीबीसीबाट ।