काठमाडौँ – इजरायलको आक्रमणमा गाजाको अस्पतालमा पाँच पत्रकारसहित २० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, सोमबार दक्षिण गाजास्थित नास्सेर अस्पतालमा इजरायली हवाई आक्रमण हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको ज्यान गएको पुष्टि भएको छ । घटनाप्रति रोयटर्स, एसोसिएटेड प्रेस (एपी) र अल- जजिराले आफ्ना सहकर्मी पत्रकारहरूको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘दुर्भाग्यपूर्ण दुर्घटना’ भन्दै खेद व्यक्त गरेका छन् । इजरायली सेनाले एक विज्ञप्तिमा नास्सेर अस्पतालनजिकै आफ्ना सैनिकहरूले कारबाही गरेको र सेनाका प्रमुखले तत्काल प्रारम्भिक छानबिन गर्न निर्देशन दिएको जनाएको छ ।
पत्रकारहरूको हितका लागि काम गर्ने संस्थाहरूका अनुसार, करिब दुई वर्षदेखि जारी आक्रमणका क्रममा गाजामा करिब २ सय पत्रकार मारिइसकेका छन्, जसले यो युद्धलाई पत्रकारहरूका लागि सबैभन्दा घातकमध्ये एक बनाएको छ ।
रोयटर्सले आफ्ना भिडियो पत्रकार हुशाम अल-मस्रीको निधन भएको पुष्टि गर्दै, अर्की सहकर्मी हातेम खालेद घाइते भएको जानकारी दिएको छ । रोयटर्सले यस घटनालाई ‘विनाशकारी’ भन्दै तत्काल थप विवरण खोजिरहेको जनाएको छ ।