काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद मुनाफा झण्डै दोब्बरले बढेको छ । सञ्चालनमा रहेका ४५ म्युचुअल फण्डले असार मसान्तसम्म ७ अर्ब १० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो नाफा जेठ मसान्तसम्मको तुलनामा ९७.१० प्रतिशत बढी हो । जेठ महिनासम्ममा म्युचुअल फण्डहरुले ३ अर्ब ६० करोड ३६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म सबै फण्डको नाफा उल्लेख्य बढेको छ । जेठमा घाटा ब्यहोरेका फण्डहरुले समेत असार मसान्तसम्म आइपुग्दा नाफा कमाउन सफल भएका छन् । असार महिनामा एनआइबीएल समृद्धि फण्ड–२ योजना मात्रै घाटामा रहेको छ, तर यो फण्डको नोक्सानी जेठ महिनाको तुलनामा कम भएको छ ।
सेयरबजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुको नाफामा समेत सुधार देखिएको छ । जेठ मसान्तसम्म २६५५ को विन्दुमा रहेको नेप्से परिसूचक असार मसान्तसम्म पुग्दा २७५९ विन्दुमा पुगेको छ । यसर्थमा एक महिनाको अन्तरालमा सेयरबजार ३.९१ प्रतिशतले बढेको छ ।
सेयरबजारमा म्युचुअल फण्डहरुको ठूलो लगानी रहेको हुन्छ । बजारमा आउने उचारचढावले फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउन सक्छ । सेयरबजारमा अर्बौ लगानी हुने भएकाले बजार घट्दा फण्डहरुको नाफा घट्ने वा घाटा ब्यहोर्ने र बजार बढ्दा नाफामा सुधार देखिने हुन्छ ।