काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी अध्यक्ष रञ्जिता श्रेष्ठकै पद धरापमा परेको छ ।
पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले यही आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।
शुक्रबार बहुमत केन्द्रीय सदस्यको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन उनले यो निर्णय गरेकी थिइन् ।
अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताले बतएकी थिइन् ।
तर नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले अब उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाउने तयारी गरेका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका छन् ।