रूसमा ८.८ म्याग्निच्युडको भूकम्पले निम्त्यायो सुनामी, ‘शक्तिशाली परकम्प’ को चेतावनी

काठमाडौं । बुधबार रुसको कमचटका प्रायद्वीप नजिकै आएको भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरूले जनाएका छन् । साथै, आगामी दिनमा ‘शक्तिशाली परकम्प’ आउने चेतावनी पनि दिएका छन् । रूसी विज्ञान एकेडेमीअन्तर्गतको भूभौतिक सेवा विभागको कमचटका शाखाले भनेको छ, “कम्तीमा एक महिनासम्म ७।५ म्याग्निच्युडसम्मका उल्लेखनीय र महसुस गर्न सकिने परकम्पहरू जारी रहने अपेक्षा गरिएको छ ।”
८.८ म्याग्निच्युडको यो भूकम्पले रूसको सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीको बाढी निम्त्याएको छ ।

रूसी बन्दरगाह सहरमा सुनामीको लहर

कमचटका प्रायद्वीपमा ८।८ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ । रूसको आपतकालीन मन्त्रालयका अनुसार, सुनामीको लहरले सेभेरो–कुरिल्स्क सहरको केही भागमा बाढी ल्याएको छ । यस सहरमा करिब दुई हजार जनाको बसोबास छ । क्षेत्रीय आपतकालीन मन्त्री सर्गेई लेबेदेवले यो भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।

जापानमा उच्च सतर्कता, समुद्रबाट टाढा रहन आदेश

जापानका विभिन्न क्षेत्रका बासिन्दालाई समुद्री तटबाट टाढा रहन र उच्च स्थानमा जानका लागि निकासी आदेश जारी गरिएको छ । फुकुशिमा डाइची र डाइनी परमाणु ऊर्जा केन्द्रका कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी को विज्ञप्तिअनुसार, यी दुवै प्लान्टका कामदारहरूलाई निकासी गरी सुरक्षित स्थानमा राखिएको छ । स्मरणीय छ, सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण फुकुशिमा डाइची प्लान्टमा गम्भीर परमाणु दुर्घटना भएको थियो ।

अमेरिकाको हवाइ राज्यको माउमा साइरन र फोन अलर्ट, सुनामीको चेतावनी

माउ टापुमा साइरन र फोन अलर्टहरू बज्न थालेका छन् । यी अलर्टहरूमा स्थानीय समय अनुसार बेलुका ७ः१० बजेभित्र (तीन घण्टाभन्दा कम समयमै) सुनामीको लहर आउने सम्भावना जनाइएको छ ।

माउका बासिन्दा र ब्यागपाइप वादक रोजर प्लिजेन्टनले बीबीसीसँग भने, “यति धेरै चेतावनी पाएकोमा हामीलाई राहत महसुस भएको छ। कम्तीमा यो प्रणाली काम गरिरहेको छ भन्ने विश्वास लाग्यो। आपतकालीन सेवाहरू सक्रिय छन् ।”

डिजेल किन्न गाडीको लाइनमा बसेका उनले थपे, “हामी सबैलाई थाहा छ, अघिल्लो आगलागीको बेला भने यो प्रणालीले काम गरेको थिएन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार