काठमाण्डौ । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ ।
बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । हालको दरअनुसार बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो लोन उपलब्ध गराइने घोषणा गरेको छ ।
गतिशील बैंकिङ्गको अभ्यास गर्दै ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा शेयर कर्जा योजना सार्वजनिक गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
ग्राहकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ ।
प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरिएको बैंकले उल्लेख गरेको छ ।