प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुर

काठमाडौं– प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ । प्रहरी प्रधान कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको हो ।

त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी अपराध, आत्महत्या, लागूऔषध, चोरी, जबरजस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाह छन् ।

बैंकिङ कसुरका मुद्दा मात्रै ११ हजार ४८ दर्ता रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार उक्त विवरण पछिल्लो १० महिनाका हुन् । त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा छ हजार ८८४ वटा मुद्दा दर्ता भएका छन् ।

लागूऔषधका चार हजार ४१, चोरीका दुई हजार ९४०, जबरजस्ती करणीका एक हजार ८२८, ठगीका एक हजार ७५०, सवारी ज्यानसम्बन्धी, एक हजार ५५७, ज्यान मार्ने उद्योगमा ८९४ र बहुबिवाहसम्बन्धी ४५४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ

प्रहरीले आज सार्वजनिक गरेको विवरणमा कूल ४६ हजार ८८९ मुद्दा दर्ता भएकामा प्रमुख १० अपराधका मात्रै ७८ दशमलव ५१ प्रतिशत रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार