काठमाडौं । सरकारलाई बजेट खर्च गर्ने चटारो सुरु भएको छ । आर्थिक वर्षको अन्तअन्त आइपुग्दैगर्दा सरकारले बजेट खर्च र भूक्तानीलाई तीब्रता दिन सुरु गरेको हो । जसलाई असारे विकासको मोडालिटी पनि भन्ने गरिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ५ गते मात्र सरकारले ४ अर्ब ३५ करोड २३ लाख रुपियाँ भूक्तानी दिएको छ । यो दैनिक भूक्तानीको उच्च गति हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजो मात्र चालु खर्चतर्फ दुई अर्ब ५८ करोड ९९ लाख रुपियाँ बराबरको भूक्तानी भएको छ भने विकास खर्चतर्फ ७२ करोड ५४ लाख रुपियाँ भूक्तानी भएको छ । यता सार्वजनिक ऋणको साँवा ब्याज भूक्तानीमा भने सोही दिन एक अर्ब बढी भूक्तानी दिइएको कार्यालयले जनाएको छ ।
२०८२ जेठ ५ गतेसम्ममा विनियोजित बजेटको ६३.११ प्रतिशत अर्थात् ११ खर्ब ७४ अर्ब रुपियाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँ बराबरको अनुमानित बजेट ल्याएको थियो । विनियोजित बजेट अनुसार बाँकी करिब ५० दिनमा ७ खर्ब बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ ।