शिक्षकको चेतावनी– ‘राज्यपक्ष इमानदार नदेखिए झनै सशक्त आन्दोलन हुन सक्छ’

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा राज्यपक्ष इमानदार नदेखिए पहिलेभन्दा झनै सशक्त आन्दोलन हुने चेतावनी दिएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविविध समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतको सहमतिको सम्मान नगरेको महासंघको ठहर छ ।

“आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा पनि पश्चगमनतर्फ उन्मुख छ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघले अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनदान, प्राविधिक धार र विशेष शिक्षा लगायत)का लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमतिबमोजिम नराखिएको जनाएको छ । यसमा अस्थायी–करार र सिकाइ अनुदान शिक्षकलाई छुटाइएको महासंघले जनाएको छ ।

त्यस्तै, स्थायी शिक्षकको आवधिक बढुवाका निम्ति प्रस्तावित अवधि सहमतिअनुसार नभएको, प्रस्तावित अवधिमै पनि सर्तहरू राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च मिलाइएको महासंघको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार