गभर्नर नियुक्ति प्रक्रिया झनै पेचिलाे बन्दै ! कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने

कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने

काठमाडौं । लामो समयदेखि विवादित बनाइएको गभर्नर नियुक्ति प्रक्रियामा नयाँ नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ । अहिले पछिल्लो पल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले गरेको स्रोतले जानकारी दियो ।

स्रोतले दिएको जानकारीअनुसार शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको थियो ।

पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् । उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्ने कांग्रेसको तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका यस बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गुणाकर भट्टलाई सिफारिस गरेको भए पनि उनको राजीनामा स्वीकृत नहुँदा र उनलाई राजीनामा स्वीकृत नगरी पठाउँदा प्राविधिक समस्या आउन सक्ने देखिएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार