काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज वैशाख २४ गते ३५ अर्ब बराबर तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ९तरलता० धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ।