काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना देखिएको छ। पश्चिमी वायुको प्रभाव बढेसँगै सुदूरपश्चिमदेखि पूर्वी पहाडी क्षेत्रसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। यसको आंशिक प्रभाव बागमती र कोशी प्रदेशसम्म पनि पुग्न सक्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन।
तर, आइतबारदेखि पश्चिमी वायुको प्रभाव बलियो हुँदै जाँदा मौसममा परिवर्तन आउने अनुमान गरिएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ। गण्डकी प्रदेशका केही क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्नेछ भने बागमती र कोशीका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।