काठमाडौं – दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ । आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ जना घाइते भएका छन् ।
अलजजिराका अनुसार गाजा स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान अस्पतालको शल्यचिकित्सा भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । मृत्यु हुनेमा चिकित्सक रिज्क अबु शुवाइरा पनि छन् ।
गाजा स्वास्थ्य मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी र बिरामीलाई अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको संरक्षणको उल्लंघन भएको भन्दै आक्रमणको निन्दा गरेको छ । साथै अस्पतालको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पनि आक्रमणमा ६ जनाको मृत्यु र कम्तीमा २७ जना घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार आक्रमणबाट अस्पतालको शल्यचिकित्सा विभागमा व्यापक क्षति पुगेको छ । शल्यक्रिया कक्ष, बिरामीको स्वास्थ्यलाभ कक्ष र सघन उपचार कक्षसमेत प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताएका छन् ।
टेड्रोसका अनुसार सन् २०२३ अक्टोबरदेखि हालसम्म डब्लुएचओले गाजामा स्वास्थ्य सेवासम्बन्धी पूर्वाधारमाथि भएका १ हजार ५६ वटा आक्रमण अभिलेख गरेको छ । ती घटनामा १ हजार १० जनाको मृत्यु र १ हजार ७२५ जना घाइते भएका छन् ।