पाकिस्तानमा प्रहरी कार्यालयनजिकै मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

काठमाडौँ – उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्।

प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्षा बलले लडाकुविरुद्ध कारबाही गरिरहेका बेला उक्त विस्फोट भएको हो।

खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भएको घटनामा विस्फोटक पदार्थले भरिएको एउटा गाडी मस्जिदमा ठोकाइएको प्रान्तीय प्रहरी प्रमुख जुल्फिकार हमिदले बताए।

वरिष्ठ उद्धार अधिकारी बिलाल फैजीका अनुसार मृतकमध्ये पाँच प्रहरी र १० सर्वसाधारण छन्। घाइतेमध्ये अधिकांश नमाज पढ्न मस्जिद पुगेका व्यक्ति रहेको र केहीको अवस्था गम्भीर रहेको उनले बताए।

प्रहरीका अनुसार कम्तीमा दुई बन्दुकधारीले प्रहरी परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए। उनीहरूको प्रहरीसँग गोली हानाहान भएको बताइएको छ। विस्फोटबाट प्रहरी कार्यालयको बाहिरी पर्खाल तथा मस्जिदमा ठुलो क्षति भएको छ।

स्थानीय बासिन्दाका अनुसार विस्फोटको आवाज टाढासम्म सुनिएको थियो र त्यसलगत्तै गोली चलेको थियो।

प्रधानमन्त्री सहबाज सरिफले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले उद्धार तीव्र पार्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

आक्रमणको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन। यद्यपि घटनामा ’तेहरिक-ए-तालिबान पाकिस्तान’ (टीटीपी) अर्थात् पाकिस्तानी तालिबानको सङ्लग्नताको आशंका गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार