काठमाडौं। पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वले विश्वव्यापी भोकमरी अभूतपूर्व स्तरमा पुग्ने खतरा बढाएको भन्दै डब्लुएफपीले गम्भीर चिन्ता व्यक्त गरेको हो।
डब्लुएफपीका अनुसार चरम द्वन्द्व र विभिन्न स्थानमा देखिएको अनिकालको संयुक्त प्रभावका कारण हाल विश्वभर करिब ३२ करोड मानिस तीव्र खाद्य असुरक्षाको अवस्थामा छन्। यस्तो अवस्थामा मध्यपूर्वको युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको र यसले खाद्य तथा इन्धन मूल्यमा ठूलो असर पारिरहेको चेतावनी दिइएको छ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले युद्ध लम्बिएर जुनसम्म पुग्ने र तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रहने हो भने थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने बताए। उनका अनुसार यस संकटको सबैभन्दा ठूलो असर पहिले नै कमजोर अवस्थामा रहेका जनसंख्यामा पर्नेछ।
“जीवनयापन खर्चमा आएको नयाँ वृद्धिलाई उनीहरूले धान्न सक्ने अवस्था छैन,” स्काउले भने। यो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि चर्किएको हो। त्यसपछि इरानले प्रतिकार गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमा आक्रमण गरेको थियो भने इरान समर्थित हिज्बुल्लाहको संलग्नतासँगै लेबनान पनि द्वन्द्वमा तानिएको छ।
हाल डब्लुएफपीले लेबनानमा हजारौँ मानिसलाई तातो खाना र रोटी वितरण गरिरहेको छ। आगामी तीन महिनासम्म राहत कार्य सञ्चालन गर्न संस्थाले तत्काल ७७ मिलियन अमेरिकी डलर थप सहयोगको अपिल गरेको छ।
डब्लुएफपीका अनुसार हालको युद्ध सुरु हुनु अघि नै विश्व खाद्य संकट गम्भीर अवस्थामा थियो। पछिल्लो पाँच वर्षमा तीव्र खाद्य असुरक्षा तीन गुणाले बढेको र गत वर्ष अन्तर्राष्ट्रिय सहयोगमा ४० प्रतिशत कटौती हुँदा राहत कार्यमा ठूलो चुनौती थपिएको स्काउले बताए।
युद्धका कारण इन्धन मूल्य वृद्धि, ढुवानी लागत बढ्नु र आपूर्ति श्रृंखला लम्बिनुले राहत कार्य झन् महँगो बनेको छ। ढुवानी खर्च १८ प्रतिशतले बढेको र सवारी साधनहरू महँगो इन्धनमा निर्भर हुनुपरेको अवस्था छ।
यस संकटले युद्ध क्षेत्रभन्दा टाढाका देशहरूमा पनि कृषि उत्पादनमा असर पार्ने खतरा बढेको छ। विशेषगरी हर्मुज जलमार्ग हुँदै रासायनिक मल निर्यातमा अवरोध हुँदा सोमालिया र केन्याजस्ता अफ्रिकी देशहरूमा रोपाइँ सिजन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
सोमालियामा त अवस्था झन् गम्भीर बन्दै गएको छ। लगातार दुई पटकको खडेरीका कारण त्यहाँ अनिकालको संकेत देखिएको छ। पर्याप्त बजेट अभावका कारण डब्लुएफपीले त्यहाँ ७ लाख मानिसलाई सहयोग गर्न नसकेको जनाएको छ।
यस्तै, सुडानमा अनिकालको अवस्थामा रहेका नागरिकका लागि खाद्य सहायता कटौती गरिएको छ भने अफगानिस्तानमा तीव्र कुपोषणका शिकार बालबालिकामध्ये चार जनामध्ये एक जनालाई मात्रै सहयोग गर्न सकिएको छ।
“सहयोग अभावकै कारण अफगानिस्तानमा मानिसहरूको मृत्यु भइरहेको छ,” स्काउले चेतावनी दिँदै विश्व समुदायसँग थप मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेका छन्। एएनआई