काठमाडौं। वसन्तपुर दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजाले सजिएको तीनतले चीर गाडिएसँगै यस वर्षको फागु अर्थात् होली पर्व औपचारिकरूपमा आरम्भ भएको छ। फागुन शुक्ल अष्टमीका अवसरमा हनुमानढोका दरबार परिसरको गद्दी बैठकको दक्षिण भागमा चीर ठड्याउने परम्पराअनुसार मंगलबार बिहान उक्त विधि सम्पन्न गरिएको हो।
परम्परागतरूपमा मानन्धर समुदायले चीर गाड्ने जिम्मेवारी निभाउँदै आएका छन्। उनीहरूले रङ्गीन कपडा र ध्वजाले सिँगारिएको चीर उभ्याएर एकअर्कालाई अबिर दलेर पर्व सुरु भएको संकेत दिएका थिए। यस क्षणसँगै राजधानीमा होलीको रौनक थपिएको छ। चीर गाड्ने चलन केवल वसन्तपुरमा मात्र सीमित छैन। आजकै दिन पशुपतिनाथ मन्दिर, सुन्दरीचोक तथा ललितपुरस्थित कृष्ण मन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर फागु पर्वको सुरुआत गरिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको होली पर्व वसन्त ऋतुको आगमनसँगै उल्लासपूर्वक मनाइन्छ। आपसी सद्भाव, भाइचारा र रमाइलोको सन्देश बोकेको यो पर्वमा मानिसहरूले रङ्ग, अबिर र पानीसँगै हर्षोल्लास साटासाट गर्छन् । यस वर्ष होलीको मुख्य दिन फागुन १८ र १९ गते परेको छ। फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई–मधेश क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ। त्यसअघिका दिनहरूमा राजधानीसहित देशका विभिन्न स्थानमा चीर गाड्ने र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको छ।