समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको खाता र सम्पत्ति रोक्का

काठमाडौं । समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनका लागि गठित समितिले सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार ऋणी सदस्यका बैंक खाता, सेयर लगानी तथा चल–अचल सम्पत्तिमा रोक लगाएको छ । बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन र ऋण असुली तीव्र पार्न यस्तो निर्णय गरिएको कार्यालयका अधिकारीहरूले बताएका छन् ।

कार्यालयका अनुसार रोक्का गरिएका सम्पत्तिलाई जफत गरी बचत फिर्ता गर्ने तयारी भए पनि हालसम्म उपलब्ध स्रोत–साधन सबै बचतकर्ताको रकम चुक्ता गर्न पर्याप्त नदेखिएको प्रारम्भिक मूल्याङ्कन छ । सरकारद्वारा समस्याग्रस्त घोषित अधिकांश सहकारीमा कमजोर पुँजी संरचना र असुली हुन नसक्ने कर्जाको उच्च अनुपात रहेकाले पूर्ण भुक्तानी चुनौतीपूर्ण बनेको जनाइएको छ ।

समिति गठन भएयता २३ सहकारी संस्था व्यवस्थापनको दायरामा आइसकेका छन् । तीमध्ये तीन सहकारीको मात्रै हिसाबकिताब टुंग्याइएको छ भने बाँकी २० संस्थामा सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया जारी रहेको कार्यालयले जनाएको छ ।

हालसम्म ७४ हजार ३ सय ७ बचतकर्ताले ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ दाबी गरेका छन् । त्यसमध्ये ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६ सय ५४ रुपैयाँ मात्र फिर्ता वा मिलान हुन सकेको तथ्यांक सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार