काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिको अनुमति नलिई भित्तेपात्रो प्रकाशन गरे अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।
समितिले पात्रो वा भित्तेपात्रो छाप्नुअघि अनिवार्य रूपमा आफ्नो स्वीकृति लिनुपर्ने प्रावधान लागू रहेको स्पष्ट पारेको छ। समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार विद्यमान कानुनअनुसार समितिको स्वीकृति बिना कुनै पनि प्रकारको पात्रो वा क्यालेन्डर प्रकाशन गर्न पाइँदैन।
उनले भने, “यदि कसैले समितिको अनुमति नलिई पात्रो वा भित्तेपात्रो प्रकाशन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ।”
नेपाल पञ्चांग निर्णायक विकास समिति गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट पूर्वस्वीकृति लिएर मात्र पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न सकिने स्पष्ट व्यवस्था गरिएको छ।