काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा संचित ९ अर्ब ३५ करोड रुपैयाँ एक वर्ष अवधिका लागि लगानी गर्ने निर्णय गरेको छ। उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा राखिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ। आवेदन १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म पेश गर्न सकिने व्यवस्था गरिएको छ।
कुल रकममध्ये वाणिज्य बैंकहरूका लागि ७ अर्ब ४८ करोड रुपैयाँ, विकास बैंकहरूका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। निक्षेप लिन चाहने संस्थाहरूका लागि केही सर्तहरू तोकिएका छन्। कुल कर्जा लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा ९एनपीएल० हुन नहुने प्रावधान राखिएको छ। साथै, सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम कुल पुँजीकोष कायम गरेको, निर्धारण गरिएको खुद तरल सम्पत्ति अनुपात तथा कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने छ।
त्यस्तै, पछिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्ने, शिघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त पनि तोकिएको छ। यसैगरी, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, यदि घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा गरेको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।