जेन जेड आन्दोलनको दुई दिनले देशलाई साढे ८४ अर्बको क्षति

सरकारी प्रतिवेदन सार्वजनिक: अर्थतन्त्र, शासन र सामाजिक संरचनामा दीर्घकालीन असर

काठमाडौँ — गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनले नेपालको शासन व्यवस्था, आर्थिक प्रणाली र सामाजिक संरचनामा गहिरो प्रभाव पारेको सरकारी प्रतिवेदनले देखाएको छ। अर्थ मन्त्रालयद्वारा सार्वजनिक चालू आर्थिक वर्षको बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार उक्त आन्दोलनका कारण सार्वजनिक र निजी क्षेत्र गरी कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

प्रतिवेदनले आन्दोलनले राजस्व संकलनमा गिरावट, आयात प्रक्रियामा अवरोध र वैदेशिक लगानीको वातावरणमा नकारात्मक सन्देश दिएको उल्लेख गरेको छ। दुई दिनको आन्दोलनले मात्र नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को १.३८ प्रतिशत र चालू आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबरको क्षति पुगेको सरकारी मूल्यांकन छ।

आन्दोलनका क्रममा ७३ पुरुष र ४ महिला गरी ७७ जनाको ज्यान गएको तथा २ हजार ४२९ जना घाइते भएको तथ्यांक प्रतिवेदनमा समावेश गरिएको छ।

कुल भौतिक क्षतिमध्ये ५३ प्रतिशत सार्वजनिक क्षेत्र, ३० प्रतिशत निजी क्षेत्र र ७ प्रतिशत सामुदायिक तथा अन्य क्षेत्र बाट भएको अर्थ मन्त्रालयले जनाएको छ। सार्वजनिक क्षतिमा संघीय निकायको हिस्सा ६६ प्रतिशत र स्थानीय तहको २१.८ प्रतिशत रहेको उल्लेख छ। आन्दोलनका क्रममा सार्वजनिक भवन, सवारी साधन र बहुमूल्य सामग्रीमा तोडफोड, आगजनी तथा लुटपाट भएको प्रतिवेदनमा स्पष्ट गरिएको छ।

निजी क्षेत्रमा मात्रै ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसमा निजी प्रतिष्ठानमा २ अर्ब ७४ करोड, सर्वसाधारणका घरपरिवारमा ६८ करोड ४० लाख र दलका कार्यालय तथा सामुदायिक संस्थामा ५९ करोड ७१ लाख बराबरको क्षति भएको जनाइएको छ।

आन्दोलनका कारण आर्थिक गतिविधि ठप्प हुँदा वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको र २ हजार ३५३ जनाले रोजगारी गुमाएको तथ्यांक पनि प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय योजना आयोगको मूल्यांकनअनुसार क्षतिग्रस्त भवन, सवारी साधन तथा अन्य संरचनाको पुनर्निर्माणका लागि मात्रै ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार