कोरला नाका अवैध कारोबारको केन्द्र बन्दै, सुरक्षाकर्मीको संयुक्त कारबाहीमा सामान जफत

मुस्ताङ — माथिल्लो मुस्ताङको कोरला नाका पछिल्लो समय अवैध तस्करीको संवेदनशील बिन्दु बन्दै गएको देखिएको छ। सोही क्रममा कोरला नाका हुँदै भित्र्याइएको ठूलो परिमाणको अवैध सामग्री सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।

लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित न्हेचु क्षेत्रमा गरिएको गस्तीका क्रममा मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल (बीओपी) र इलाका प्रहरी कार्यालय छोसेरको टोलीले करिब रु १ लाख १७ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

लोमान्थाङको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारीको नेतृत्वमा खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार बरामद सामग्री आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमै बुझाइएको छ।

यसअघि पनि कोरला नाकामा पटक–पटक अवैध सामग्री फेला पर्दै आएको छ। गत पुस २७ गते, नाकामा रोकिएको मालबाहक कन्टेनरको जाँच गर्दा करिब रु २ करोड २४ लाख बराबरका अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो।

त्यस्तै, २०८१ पुस २० गते कोरला नाका हुँदै जोमसोमतर्फ लुकाइछिपाई ल्याइँदै गरेको रु ६ करोड ८१ लाख मूल्यको अवैध भेप सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

हिउँदयाममा सीमावर्ती क्षेत्र खुला रहने र चोरी, तस्करी तथा अन्य अवैध गतिविधि बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले कोरला नाका आसपास निरन्तर सीमा निगरानी र गस्तीलाई तीव्र बनाउँदै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार