काठमाडौँ – म्याग्दी जिल्लामा यस वर्ष करिब ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको सुन्तलाखेतीबाट यो आम्दानी भएको हो। कृषि विकास कार्यालय म्याग्दीका अनुसार ४३० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट प्रतिहेक्टर औसत १०.५ मेट्रिक टन उत्पादनका दरले जम्मा ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले जिल्लाका विभिन्न स्थानका बगैँचामा कटानीपछि तथ्याङ्क सङ्कलन गरिएको जानकारी दिए। उनका अनुसार किसानहरूले प्रतिकिलो औसत ७० रुपैयाँमा सुन्तला बिक्री गर्दै कुल ३१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्।
हाल म्याग्दी जिल्लामा करिब ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा फैलिएको छ। गत वर्ष भने ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले ४ हजार ७८१ मेट्रिक टन उत्पादन भएको थियो, जसबाट करिब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
गत वर्षको तुलनामा यस वर्ष उत्पादन ५.५६ प्रतिशतले घटेको छ। बाँस्तोलाका अनुसार रोगकीरा वा प्राकृतिक विपद्का कारण नभई बोटमा दाना कम लाग्नु उत्पादन घट्नुको मुख्य कारण हो।
उनले भने, “मौसम अनुकूल रहे पनि यसपालि फल कम लागेको छ। एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने सुन्तलाखेतीको प्राकृतिक चक्रकै कारण उत्पादन घटेको हो।”
क्षेत्रफल र बजारमूल्य बढे पनि उत्पादकत्व घटेको देखिएको छ। गत वर्ष प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष प्रतिसेयर ७० रुपैयाँमा बिक्री भएको हो।
राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ क्षेत्रमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन्।
जिल्ला सदरमुकाम बेनीसँगै काठमाडौं, पोखरा, मुग्लिनलगायत बजारमा म्याग्दीको सुन्तला बिक्री भइरहेको छ। मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीका अनुसार उनले मात्रै यस वर्ष आफ्नो बगैँचाबाट ११ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्।
यातायात सुविधा सहज भएकाले व्यापारीहरू गाडी लिएर सिधै बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेको किसानहरूको भनाइ छ।