इरानी नोबेल पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई थप साढे सात वर्ष जेल सजाय

काठमाडौँ – इरानकी नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता नर्गेस मोहम्मदीलाई इरानी अदालतले थप साढे सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । उत्तर–पूर्वी शहर मशहदको अदालतले ‘जुटबन्दी र षड्यन्त्र’को आरोपमा ६ वर्ष र ‘प्रचार गतिविधि’का लागि १ वर्ष ६ महिना कैद सुनाएको हो ।

वकिल मोस्तफा निलीका अनुसार मोहम्मदीलाई देश छोड्न दुई वर्ष प्रतिबन्ध र पूर्वी खुस्फ क्षेत्रमा दुई वर्ष निर्वासनको सजाय पनि दिइएको छ । गत डिसेम्बरमा स्मृतिसभामा ‘उत्तेजक अभिव्यक्ति’ दिएको आरोपमा पक्राउ परेकी उनलाई पक्राउका क्रममा कुटपिट भएपछि अस्पताल भर्ना गर्नुपरेको परिवारले जनाएको थियो ।

इरानमा महिलामाथिको दमनविरुद्धको अभियानका लागि २०२३ मा नोबेल शान्ति पुरस्कार पाएकी ५३ वर्षीया मोहम्मदीले २ फेब्रुअरीदेखि आमरण अनशन थालेकी नर्गेस फाउन्डेसनले जनाएको छ । उनका श्रीमान् ताघी रहमानीले अदालत प्रक्रियालाई न्यायसंगत नभएको भन्दै सजाय क्रूर र अत्यन्तै अन्यायपूर्ण भएको बताएका छन् ।

मोहम्मदीले यसअघि नै १० वर्षभन्दा बढी समय जेलमा बिताइसकेकी छन् । पछिल्लो फैसलासँगै उनलाई जेलमा बिताउन आदेश दिइएको कुल अवधि ४४ वर्ष पुगेको नर्गेस फाउन्डेसनको भनाइ छ । मानवअधिकार संगठनहरूले फैसलाविरुद्ध विरोध जनाउँदै सबै राजनीतिक बन्दीको रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार