६ महिनामा भित्रियो ८.१७ अर्ब वैदेशिक लगानी

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी र पुँजीगत ट्रान्सफर दुवैमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, साउनदेखि पुससम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ४८ करोड रुपैयाँभन्दा करिब १ अर्ब ६९ करोड रुपैयाँ बढी हो।

यो अवधिमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरका ४७५ परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको तथ्याङ्कले देखाउँछ ।

यसैगरी, चालु आवको ६ महिनामा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको ४ अर्ब २९ करोड रुपैयाँभन्दा करिब दोब्बर बढी हो।

सरकारले वैदेशिक लगानीमा सहजता र छरितोपन ल्याउन स्वचालित मार्गबाट स्वीकृत हुने लगानीको अधिकतम सीमा हटाएको छ।

यसअघि स्वचालित मार्गमार्फत ५० करोड रुपैयाँसम्म मात्र लगानी स्वीकृत हुने व्यवस्था थियो भने अब जति पनि लगानी स्वीकृत हुने भएको छ। यसले लगानीकर्ताहरूलाई सुलभ वातावरण प्रदान गर्ने र नेपालमा थप लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार