काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतपत्र छपाइ तथा प्याकिङ कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। आयोगका अनुसार हालसम्म २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ र प्याकिङ पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
छपाइ तथा प्याकिङ सम्पन्न भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरी रहेका छन्।
यसका साथै, ६० जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको भए पनि ती जिल्लाको प्याकिङ प्रक्रिया भने अझै जारी रहेको आयोगले जनाएको छ। छपाइ तथा प्याकिङ दुवै काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने पूर्ण रूपमा सकिएको छ। यस प्रणालीअन्तर्गत कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी रुजु, प्याकिङ र ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जानकारी दिएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने लक्ष्य रहेको छ। उक्त प्रक्रिया माघ १६ गतेदेखि सुरु गरिएको थियो।
यसैबीच, १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले स्पष्ट पारेको छ।