काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमासम्बन्धी देखिएका जटिलता समाधान गर्न सक्रिय पहल थालेकी छन्। यसै सिलसिलामा उनले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला निकायहरूसँग छलफल गर्न बैठक बोलाएकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार स्वास्थ्य बीमा प्रणालीमा देखिएको समस्याबारे साझा समाधान खोज्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
केही समययता स्वास्थ्य बीमाबापत पाउनुपर्ने रकम समयमै भुक्तानी नभएपछि देशका विभिन्न स्थानका अस्पतालहरूले सेवा बन्द गर्ने चेतावनी दिएका थिए। स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नआउँदा नियमित सेवा सञ्चालन गर्न कठिन भएको स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको गुनासो छ। स्वास्थ्य बीमा बोर्डका अनुसार हाल देशभर सूचीकृत स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ।