काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क, सजग र जिम्मेवार हुन आग्रह गरेको छ। केही देशमा देखिएका घटनाप्रति चासो व्यक्त गर्दै मन्त्रालयले नेपालमा आवश्यक सबै पूर्वतयारी र सुरक्षा कदमहरू अपनाइएको स्पष्ट पारेको छ। साथै, सर्वसाधारणलाई अफवाह र अनावश्यक त्रासमा नपर्न अनुरोध गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) ले विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जोखिम हाल न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकहरूमा देखिएका घटनालाई ध्यानमा राख्दै नेपालले उच्च सतर्कता अपनाएको मन्त्रालयको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत देशभरका स्वास्थ्य संस्थाहरूलाई सतर्क बनाइएको, परीक्षण व्यवस्था मिलाइएको तथा सम्भावित सङ्क्रमणका लागि तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा मानिसमा सर्न सक्छ। त्यस्तै, सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्क, रगत, थुक, पिसाबमार्फत पनि सङ्क्रमण फैलनसक्ने तथा चमेरोबाट सुँगुर हुँदै मानिसमा सर्ने जोखिमसमेत रहने उल्लेख गरिएको छ।
कसरी बच्ने ?
स्वास्थ्य मन्त्रालयले नागरिकलाई निम्न सावधानी अपनाउन आग्रह गरेको छः
फलफूल राम्ररी पखालेर मात्र खाने
तरकारी राम्रोसँग पकाएर खाने
सुरक्षित पानी उमालेर मात्र पिउने
जनावरका गोठ र फार्म सफा राख्ने
मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने
साबुनपानीले नियमित हात धुने
भिडभाडमा जाँदा मास्क लगाउने
लक्षण देखिएमा तुरुन्त उपचार
निपाह भाइरसका सम्भावित लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी, सास फेर्न गाह्रो हुने, वाकवाकी, बान्ता हुने, गम्भीर अवस्थामा बेहोस हुनेजस्ता संकेत देखिन सक्छन्। यस्ता लक्षण देखिएका व्यक्तिलाई तत्काल आइसोलेसनमा राखी उपचार र रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयको निर्देशन छ।
शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ नम्बरमा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
हालसम्म नेपालमा निपाह भाइरसको कुनै पनि पुष्टि भएको घटना नभएको उल्लेख गर्दै मन्त्रालयले स्वास्थ्य प्रणाली पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायसँग समन्वय गर्दै अवस्थाको निरन्तर निगरानी भइरहेको जनाएको छ।
अन्त्यमा मन्त्रालयले सबै नागरिकलाई सचेत रहन, वैज्ञानिक सूचनामा आधारित जानकारी लिन र अफवाहबाट टाढा रहन विशेष अनुरोध गरेको छ