काठमाडौं । तीनै तहको सरकारको खातामा कुल नगद मौज्दात २ खर्ब ५३ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन चालु आ.व.को मंसिर मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका संघ, प्रदेश र स्थानीय सरकारका विभिन्न खातामा रहेको नगद मौज्दात हो ।
उक्त सरकारको खातामा ५ महिनामा १ खर्ब २२ अर्ब २९ करोड रुपैयाँ बराबरको नगद थपिएको छ । गत असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड थियो ।
चालु आ.व.को ५ महिनामा प्रदेश सरकारहरूको कुल खर्च २९ अर्ब १ करोड रुपैयाँ र स्रोत परिचालन ७४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ५७ अर्ब ५१ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १७ अर्ब ३२ करोड रुपैयाँ छ ।
यसबीच संघीय सरकारको कुल खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ छ । जस्मा तलब, भत्ता अर्थात चालु खर्च ३ खर्ब ९८ अर्ब ५ करोड, विकास (पुँजीगत) खर्च ३३ अर्ब ८७ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ३२ अर्ब ५४ करोड रुपैयाँ छ ।
यस अवधिसम्ममा नेपाल सरकारको कुल राजस्व परिचालन ४ खर्ब ६ अर्ब ३० करोड पुगेको छ । यसमा प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत जोडिएको छ । उक्त राजस्वअन्तर्गत कर राजस्वमा ३ खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजस्वमा २४ अर्ब ७ करोड परिचालन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।