काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रुपन्देहीमा आएर बिगोबापतको रकम बुझाएर रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्नो लागि नभई देशको लागि भएको बताएका हुन् ।
उनले भने, “न्यायको यो लडाइँ मेरो बाकी नै छ । मैले अझ धेरै लड्नु छ र अहिले लड्नु पर्छ । लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि । यो देशको न्यायका लागि लड्नुपर्ने छ । ”
अन्य दलहरूले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरेको बताउँदै त्यो सबैको हिसाबकिताब गरेर मात्रै धेरै बोल्ने बताएका हुन् ।
उनले भने, “यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नु छ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौँला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।”
देशले छिट्टै न्याय पाउने बताउँदै आफ्नो बोल्ने दिन आउने दोहोर्याए । उनले भने, “म आशा गर्छु यो देशले चाँडै न्याय पाउनेछ । हस् सबैको जय होस्, मैले बोल्ने समय आउँदै छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ । सबैजनालाई, सबै जनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावको लागि म धेरै धेरै धन्यवाद दिन्छु । आज मैले यति नै बोले, यति मात्र संकेत गरे । धेरै बोल्ने दिन आउँदै छ ।”
अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि आएका उनले तीन करोड ७४ लाख ८४ हजारबराबरको बैंक जमानत बुझाएर छुटेका हुन् ।