दल दर्ताको लहड सुरु, शुक्रबार मात्रै पाँच वटा निवेदन दर्ता

काठमाडौं । जेनजी आन्दोलनपछि विभिन्न अभियान्ताहरू दल खोल्नतिर आकर्षित हुँदा दल दर्ताको लहड सुरु भएको छ । वैकल्पिक शक्तिहरू एक ठाउँमा हुनुको साटो छरिएर दल दर्तातिर लाग्दा एकै दिन पाँच वटासम्म दल दर्ता हुन थालेका छन् ।

शुक्रबार निर्वाचन आयोगमा पाँच समूहले दल दर्ताका लागि निवेदन दिए । उनीहरू फरक समूह र विचार राख्नेहरू छन् । जसमा केही समयअघि मन्त्रीमा चर्चा भएर आपराधिक पृष्ठभूमि देखिएर नाम काटिएका खगेन्द्र सुनार पनि छन् । निर्वाचन आयोगका अनुसार उनीसहित पाँच जनाले निवेदन दिएका छन् । उक्त निवेदनमाथि अध्ययन सुरु भएको आयोगका अधिकारीहरूले जनाएका छन् ।

सुनारले हाम्रो पार्टी नेपाल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । उनले गोलो घेराभित्र राम्रो जनाउने लाइक निर्वाचन चिन्ह प्रस्ताव गरेका छन् ।

त्यस्तै, योगेन्द्र मण्डलले राष्ट्रिय उर्जाशील पार्टी नेपाल, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल, र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा शुक्रबार निवेदन दर्ता गराएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार