नेपालमा राजनीतिक अस्थिरताको कालो बादल मडारिँदै ! तिहार र छठपछि नेपालमा आन्दोलन मचिन्ने

राजनीतिदेखि सेयर बजारसम्म ठप्प हुने खतरा

काठमाण्डौ । नेपालमा राजनीतिक अस्थिरताको कालो बादल मडारिँदै गर्दा तिहार र छठ पर्वपछि देशभर आन्दोलनको लहर चल्ने संकेत देखिएको छ। विभिन्न राजनीतिक समूह, राजावादी शक्तिहरू र सेयर बजारका लगानीकर्ताहरूले सडकदेखि बजारसम्म ठप्प पार्ने गरी आन्दोलनको तयारी तीव्र बनाएका छन्। विश्लेषकहरूले तिहार र छठपछि दोस्रो जनआन्दोलनको सम्भावना रहेको दाबी गरेका छन्, जसले देशको राजनीतिक र आर्थिक अवस्थालाई थप जटिल बनाउने देखिन्छ।

स्रोतहरूका अनुसार, तिहार र छठ पर्वपछि राजावादी समूहहरूले हालसम्मकै ठूलो आन्दोलन शुरू गर्ने तयारी गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले छठपछि देश ठप्प पार्ने घोषणा गरेका छन्। उनले जनतालाई डिजेल, पेट्रोल, दाल, चामल र तेल जस्ता अत्यावश्यक सामग्री जोहो गर्न आह्वान गरेका छन्। प्रसाईंले यो आन्दोलन वर्तमान संविधान खारेज गरी वैदिक सनातन हिन्दु अधिराज्य स्थापना नभएसम्म जारी रहने बताएका छन्।

“छठपछि, कात्तिक १५ गतेदेखि पेट्रोल, डिजेल र खानेकुरा जोहो गर्नुहोस्। नेपाल बन्द हुनेछ, पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म। यो व्यवस्था र संविधान फाल्न नसकेसम्म देश ठप्प रहनेछ,” उनले भने।

प्रसाईंको यो आह्वानलाई यसपटक हल्का रूपमा लिइएको छैन। दिल्लीमा विभिन्न शक्तिकेन्द्रहरूसँग भेटघाट गरी फर्केपछि उनले गरेको यो घोषणा अर्थपूर्ण मानिएको छ। अन्य राजावादी समूहहरू, राप्रपासहितका दल र हिन्दु राज्य स्थापनाका लागि लबिङ गरिरहेका धार्मिक संगठनहरू पनि यो आन्दोलनमा सहभागी हुने तयारीमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार