काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अध्यक्ष, इन्चार्ज, जिल्ला अध्यक्षसँग संवाद गरेका छन् । उनले भर्चुअल रूपमा संवाद गरेका हुन् ।
पार्टीको सचिवालय र केन्द्रीय कमिटी बैठकअघि जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल गरेका हुन् । “उहाँले पछिल्लो अवस्थाबारे ग्राउन्ड बुझ्न खोज्नुभएको जस्तो लाग्यो । सुझाव दिनका लागि जिल्ला अध्यक्षलाई तीन मिनेटको समय दिइएको थियो,” एक जिल्ला अध्यक्ष भन्छन् ।
गण्डकी र कर्णाली प्रदेशका नेताहरूलाई एकै ग्रुपमा जोडिएको ती अध्यक्षले बताए । “दुई प्रदेशलाई एकै ठाउँ राखिएको थियो । अध्यक्षकै निरन्तरता हुनुपर्छ भन्ने र अब नेतृत्व छोड्नुपर्ने खालाका मिश्रित सुझाव आए,” ती अध्यक्ष भन्छन् ।
अन्यमा पनि त्यसैगरी संवाद गरेका हुन् । छलफलका क्रममा सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकले अवस्थाको ठोस मूल्यांकन गरेर आवश्यक निर्णय लिने धारणा ओलीले राखेका थिए ।
ओलीले आफूले सहन सकुनजेल पार्टीको शिर झुक्न नदिने बताए । “सक्रियता, इमानले कुनै हिसाबले शिर झुक्न दिन्नँ । सहन नसकेपछि छोडिदिन्छु,” ओलीले भनेका थिए ।