माडागास्करमा जेनजी सरकार विरोधी प्रदर्शन जारी, राष्ट्रपतिले पद छाड्न मानेनन् 

काठमाडौं । अफ्रिकी देश माडागास्करका जेनजीहरूको सरकार विरोधी आन्दोलन जारी रहँदा राष्ट्रपतिले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् ।

माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले राष्ट्रव्यापी युवा नेतृत्वको आन्दोलनले गरेको राजीनामाको मागलाई बेवास्ता गर्दै यसलाई आफ्ना प्रतिद्वन्द्वीहरूले प्रेरित गरेको ‘कू’ (सैन्य विद्रोह) को षड्यन्त्र भनेका छन् ।

जेनजी भनेर चिनिने आन्दोलनले पानी, बिजुलीलगायत आधारभूत सेवाहरू उपलब्ध गराउन राष्ट्रपतिको असफलताको आरोप लगाउँदै उनको राजीनामा माग गरेको हो । यो आन्दोलनको दैनिकजस्तै भइरहेका प्रदर्शनहरूमा रणनीतिक विरामपछि शुक्रबार प्रदर्शनकारीहरू पुनः राजधानी अन्टानानारिभोका सडकहरूमा उत्रिए ।

संयुक्त राष्ट्रसंघका अनुसार, सेप्टेम्बर २५ मा विरोध प्रदर्शन सुरु भएदेखि कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ । रियल टिभी माडाागास्करले देखाएको दृश्यअनुसार शुक्रबार पनि प्रहरीले राजधानीमा प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो ।

राजोएलिनाले आफ्नो फेसबुक पेजमार्फत प्रसारित एक सम्बोधनमा भने, “राष्ट्रको विनाशबाट कसैलाई फाइदा हुँदैन । म यहाँ छु, सुन्न तयार छु, सहयोगको हात बढाउन तयार छु र माडागास्करमा समाधान ल्याउन प्रतिबद्ध छु ।”

तर, उनले कुनै प्रमाण नदिई केही राजनीतिज्ञहरूले विरोधको फाइदा उठाउने षड्यन्त्र गरिरहेको दाबी गरे ।

जेनजी आन्दोलनले राजोएलिनाको भाषणलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । २४ घण्टाभित्र आफ्ना मागहरूको सकारात्मक जवाफ नआए सबै आवश्यक कदमहरू चाल्ने चेतावनी दिएको छ । अलजजिरा

प्रतिक्रिया
सम्बन्धित समाचार