काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अर्को आयात कर (ट्यारिफ) लगाएका छन् । ट्रम्पले अमेरिकाबाहिर निर्मित फिल्ममा १०० प्रतिशत महसुल लगाउने घोषणा गरेका हुन् ।
यो कदमलाई भारतसहित विश्वका धेरै देशका चलचित्र उद्योगका निम्ति ठूलो झट्का मानिएको छ । ट्रम्पले यसअघि अरू देशबाट आयातित औषधिमा १०० प्रतिशत महसुल लगाउने घोषणा गरेका थिए ।
सामाजिक सञ्जालमार्फत उनले विदेशी कम्पनीले अमेरिकी चलचित्र उद्योगबाट ‘चोरी गरेको’ आरोप लगाएका छन् । ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “हाम्रो चलचित्र निर्माण व्यवसाय जसरी बच्चाबाट चकलेट (क्यान्डी) चोरी गरिन्छ, त्यसरी नै अमेरिकाबाट चोरी भएको छ ।”
उनले क्यालिफोर्नियाका गभर्नरलाई कमजोर र असक्षम भन्दै यही कारण यो राज्य सबैभन्दा बढी प्रभावित भएको जिकिर गरे । साथै, समस्या समाधान गर्न अब विदेशी फिल्ममा १०० प्रतिशत महसुल लगाइने उनले स्पष्ट पारे ।
ट्रम्पले यही वर्ष मे महिनामै यसप्रकारको कर लगाउने विचार व्यक्त गरेका थिए । तर, त्यति बेला उनले विस्तृत विवरण दिएका थिएनन् ।
यो घोषणापछि मनोरञ्जनका ठूला कम्पनीको सेयर बजार खुल्नुअघि नै घटेको छ । नेटफ्लिक्सको सेयर १.४ प्रतिशतले घट्यो । वार्नर ब्रदर्स डिस्कभरीको सेयर ०.६ प्रतिशतले घट्यो ।
विश्लेषकका अनुसार, १०० प्रतिशत महसुलले अमेरिकी सिनेमाघरमा विदेशी फिल्मको लागत दोब्बर हुनसक्छ । यसले दर्शकलाई उच्च मूल्य तिर्न बाध्य पार्न सक्ने र विश्वव्यापी वितरण सञ्जाललाई प्रभावित गर्नेछ ।
हलिउड निर्माताले अमेरिकी बजारमा विदेशी फिल्मको बिक्री र साझेदारीबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
विदेशी फिल्म निर्माता र वितरक यो निर्णयबाट चिन्तित भएका छन् । यो कदमलाई व्यापारमा हस्तक्षेप र विश्वव्यापी सहकार्यका निम्ति हानिकारक भनिएको छ ।
विश्लेषक भन्छन्, “यसले विश्वव्यापी फिल्म उद्योगमा प्रतिस्पर्धा घटाउन सक्छ र धेरै निर्माण परियोजनामा प्रत्यक्ष असर पार्न सक्छ ।” रोयटर्सबाट ।