काठमाडौं । निष्क्रिय कम्पनीहरु अब सहजै खारेज हुने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय (ओसीआर)ले ‘विशेष दर्ता आरेज निर्देशिका २०८२’ जारी भएको छ ।
निर्देशिकामा कम्पनीहरुले दिएको विशेष निवेदनको आधारमा त्यस्ता कम्पनीको दर्ता खारेजी गर्न सकिने छ । कम्पनी दर्ता खारेजी प्रक्रिया जटिल भएको भन्दै सहजीकरण गर्न निजी क्षेत्रले आग्रह गर्दै आएअनुसार सरकारले कम्पनी ऐन, ६३ मा संशोधन गरेको थियो ।
तर कम्पनी रजिष्ट्रारको कार्यालयको प्रक्रियाका कारण सो कुरा कार्यान्वयन हुन सकेको थिएन । अहिले भने कार्यालयले निर्देशिका तयार गरेर दर्ता खारेजीलाई सहजीकरण गरेको हो ।
यसअनुसार दफा १३६ क प्रारम्भ हुँदाका बखत कुनै कारोबारमा संलग्न नरहेको कम्पनी वा ऐनको दफा ४० बमोजिमको विवरण कार्यालयमा पेश नगरेको वा दफा ८१ बमोजिम जरिवाना नबुझाएका कम्पनीले निवेदन दिएको आधारमा खारेजी गरिने छ ।
कम्पनी खारेज गर्न चाहेमा साधारणसभाबाट पास गरेर निवेदन दिन सकिने छ । यसरी साधारणसभा गर्दा गणपुरक संख्या नपुगी साधारणसभा बस्न नसकेको अवस्थामा तत्काल उपस्थित सञ्चालक र शेयरधनीले निर्णय गरी खारेजका लागि निवेदन दिन सक्नेछन् ।