काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ ।
आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको हाे ।
महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।