दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु

बेरुत- दक्षिणी लेबनानमा पछिल्ला दुई दिनमा दुई इजरायली सैनिक मारिएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार, योसँगै पछिल्लो द्वन्द्व सुरु भएयता मृत्यु हुने सैनिकको सङ्ख्या कम्तीमा १५ पुगेको छ । आईडीएफले दिएको जानकारीअनुसार सर्जेन्ट फर्स्ट क्लास लिडोर पोरात शनिबार मारिएका हुन् ।

त्यसको एक दिनअघि सर्जेन्ट मेजर बराक काल्फोनको मृत्यु भएको थियो । यी दुई घटनामा अन्य १२ सैनिक घाइते भएका छन् । तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

यो द्वन्द्व मार्चको सुरुवातमा हेजबुल्लाहले इरानको समर्थनमा आक्रमण गरेपछि चर्किएको हो । त्यसपछि इजरायलले लेबनानमाथि लगातार आक्रमण गर्दै आएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ६ हप्तामा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ७ हजार घाइते भएका छन् । केही दिनअघि मात्र इजरायल र लेबनानबिच १० दिने युद्धविराम लागू गरिएको थियो तर जमिनमा अवस्था अझै अस्थिर रहेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार