काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमार्फत राजस्व भुक्तानी हुने व्यवस्था गरेको छ । बिहीबार (असोज २) अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मुख्यसचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तरआबद्धताको थालनी गरेका हुन् ।
यो प्रणाली लागु भएसँगै मास्टर कार्ड, भिसा कार्ड र अलीपेमार्फत राजस्व भुक्तानी हुने भएको छ ।
राजस्व व्यवस्थापन सूचना प्रणालीमा ‘इन्टरनेसनल कार्ड नेटवर्क’को अन्तरआबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका निम्ति राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई सहज बनाउने जनाइएको छ ।
‘पेपरलेस’ र ‘फेसलेस’ बनाएर सातै दिन चौबिसै घण्टा सेवा प्रवाह निश्चित हुनुका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गई डिजिटल इकोनोमीको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा सरकारले गरेको छ ।