काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेले सोमबार बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने जानकारी दिए ।
उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ मिति तोकेको हो । यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो ।