काठमाडौँ । होटल संघ नेपालले विज्ञप्तिमार्फत यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झन्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ ।
संकलित प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति समेत गरी देशैभरी करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
यसबाट प्रभावित सदस्य होटलहरु मर्मत संभार, पुनर्निर्माण नगरी संचालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजिरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल संचालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नु पर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न असमर्थ रहने देखिएको होटल संघले जनाएको छ ।