पहिलो महिला प्रधानमन्त्रीको सपथ स्थगित, संसद् विघटनको विषयले टुंगो लागेन

राष्ट्रपति र सभामुख संसद् विघटनको विपक्षमा अडिग

काठमाण्डौ । नेपालमा पहिलोपटक पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सर्वपक्षीय सहमति जुटे पनि संसद् विघटनको मुद्दाले वार्ता अड्किएको छ। शुक्रबार बिहान ९ बजे हुने भनिएको कार्कीको सपथ समारोह संसद् विघटनको विवादका कारण केही समयका लागि स्थगित भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार रातभर शीतल निवासमा जेन-जी प्रतिनिधि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहितका सरोकारवालाबीच भएको छलफलमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको थियो। तर, जेन-जी र बालेनका तर्फबाट प्रस्तुत संसद् विघटनको मागमा सहमति जुट्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेन।

राष्ट्रपति पौडेल, नेपाली कांग्रेस, नेकपा (एमाले) र सभामुख देवराज घिमिरे संसद् विघटनको विपक्षमा अडिग छन्। जेन-जीका प्रतिनिधि ओमप्रकाश अर्यालले संसद् तत्काल विघटन गरी नयाँ निर्वाचन र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका छन्। यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जीका मागप्रति समर्थन जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार